चैत्र १३ विराटनगर । प्रदेश १ सरकारको मन्त्रीपरिषद् आज विस्तार भएको छ । तर शुक्रबार प्रदेश १ का नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोह सरकारकै प्रभावशाली मन्त्री हिक्मत कार्कीले बहिष्कार गरेका छन् ।
मन्त्रीमण्डल पुर्नगठनका क्रममा आर्थिक मामिला मन्त्रालयमा दाबी गरेका कार्कीलाई मुख्यमन्त्री शेरधन राईले विश्वास नगरेपछि उनले सपथ समारोह बहिष्कार गरेर असन्तोष जनाएका हुन् । आफूले भनेका व्यक्तिलाई पनि मुख्यमन्त्रीले मन्त्री पदमा नपत्याएपछि मन्त्री कार्की आक्रोशित बनेका हुन् । कार्कीले आफू निकट सांसद विमल कार्कीलाई मन्त्रीको जिम्मा दिनुपर्ने माग गरेका थिए ।
आन्तरिक मामिलामन्त्री रहेका कार्कीले दाबी गरेको अर्थ मन्त्रालयमा भर्खरै माओवादी त्यागेर एमाले प्रवेश गरेका टंक आङबुहाङले मौका पाएका छन् । कार्कीले प्रधानमन्त्री ओली सम्म भनसुन गराउन प्रयास गरेको भए पनि दिन नसकिएको मुख्यमन्त्री कार्यलय स्रोतले जनाएको छ ।
आफूले रोजेको मन्त्रालय नपाएपछि असन्तुष्ट कार्कीले सपथ समारोह बहिष्कार गरी दिनभर निवासमै बसेका थिए । कार्कीले टाउको दुखेर नआएको प्रतिकृया पर्यटन मन्त्री जगदीश कुसियतले दाबी गरे ।