पर्सा १२ चैत । तराई अस्पतालको लापरवाहीका कारण बिरामीको ज्यान गएपछि आफन्तजनले प्रदर्शन र जुलुस गरेका छन् । बीरगन्जस्थित तराई अस्पतालको गैरजिम्मेवारीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउदै बिहीबार आक्रोशित आफन्तजनले जुनुस प्रदर्शन गरेका हुन् ।
बिहीबार दिउँसो रामगढवा ना ३ ख ३९९२ नम्बरको ट्रकले ना ४३ प ५८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा हरपतगन्ज निवासी मोटरसाईकल चालक २५ वर्षिय आसिफ प्रसाद यादव र पछाडि सवार पहिचान नखुलेका एक जना गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते भएकाहरुलाई थप उपचारका लागि बीरगन्ज पठाइएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका यादवलाई सर्जरीपछि एक्सरे गर्नुपर्ने भन्दै अस्पतालका कर्मचारीहरुले पैसा जम्मा गर्न परिवारजनलाई दबाब दिएको मृतकका भाई सरोज यादवले बताए ।
“मसँग अहिले पैसा छैन, दिउँसो ४ बजेसम्म पैसा जम्मा गरिदिन्छु, उपचार गर्दै गर्नुस्” मृतकका भाई सरोजले भने,“अस्पतालका कर्मचारीले त्यस्तो हुँदैन भने र एक्सरे रुममा भाईलाई छोडदिए ।”
मृतकका भाईका अनुसार पैसा जम्मा नगरेका कारण सबै स्वास्थ्यकर्मीहरुले घाईते भाईलाई एक्सरे रुममा एक्लै छोडिदिएका थिए । एक्सरे रुममा छोडेको केही बेरमै हेर्न जाँदा भाईको मृत्यु भईसकेको उनले जानकारी गराए ।
घाइते बिरामीको मृत्यु भएको आफन्तजनले थाह पाए लगतै अस्पताल प्रशासन विरुद्ध चर्को नाराबाजी गर्दै ढुंगा मुडा समेत गरेका थिए । पिडितको ढुंगामुडाबाट अस्पतालको केही झ्यालको सिसाहरु समेत फुटेको छ ।
अस्पताल पुगेको प्रहरीले अस्पताल प्रशासनका केही कर्मचारीलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।त्यसपछि मृतकका आफन्तजनले पनि अस्पतालबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
पैसा नदिएको कारण उपचारमा ढिलाई गर्दा बिरामीको मृत्यु भएको उनका आफन्तजनहरुको आरोप रहेको छ ।

