वीपी प्रतिष्ठानमा अख्तियारको छापा

वीपी प्रतिष्ठानमा अख्तियारको छापा

  • बुधबार, चैत्र ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

सुनसरी,  ११ चैत । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आकस्मिक रूपमा छापा मारेको छ। अख्तियारको इटहरी कार्यालयबाट गएको अनुसन्धान टोलीले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको आवास लगायत प्रतिष्ठानको कार्यालयमा छापा मारेको  हो ।

प्रतिष्ठान श्रोतका अनुसार दिउसो अख्तियारको टोलीले उपकुलपतिको आवास गृह निरीक्षण गर्दै त्यहाँ प्रयोग भएका विलाशी जिन्सी सामान तथा सजावटका सामानहरु समेत चेकजाँच गरेको छ ।

अख्तियारको इटहरी कार्यालयबाट अनुसन्धान अधिकृत दिवस अधिकारीको नेतृत्वमा खटिएको टोली  मंगलबार  (१० गते)  विहान ११ बजेपछि प्रतिष्ठान पुगेको थियो । तीन जनाको टोलीमा एक जना इन्जिनियर समेत रहेको प्रतिष्ठान श्रोतको दावी छ । “प्रतिष्ठानको बजेट दुरुपयोग गर्दै उपकुलपतिले पचासौं लाख खर्च गरेर आफु बस्ने क्वाटरमा विलाशी सामान खरिद गरेको भन्दै अख्तियारमा उजुरी परेको रहेछ, त्यहि सिलसिलामा इन्जिनियर सहित स्थलगत निरीक्षण गर्न अख्तियारको टोली भिसी क्वाटरमा आएको हो । उपकुलपति मात्रै हैन रजिष्ट्रारले पनि प्रतिष्ठानको करोडौं रुपैया अनियमित तवरले  खर्च गरेका छन्, तर अख्तियारले उपकुलपति निवास मात्र छापा मार्नु आश्चर्यको विषय भयो ।” प्रतिष्ठानका एक सिनियर कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

यसैगरी अख्तियारको टोलीले उपकुलपति डा. गिरीले अस्पताल निर्देशक डा. गौरिशंकर शाहलाई नियम प्रक्रिया विपरित अधिकार प्रत्यायोजन गरेको र सो अधिकार प्रयोग गरि करोडौं अनियमितता गरेको पटक पटकको उजूरीको  सन्दर्भमा समेत जाँचबुझ गरेको  एक पदाधिकारीले बताए।

डा. गिरीले पदीय दुरुपयोग गर्दै आफु बस्ने क्वाटरमा दशौं लाखको सोफा, महंगा सजावटका सामग्री खरिद गरेको भन्दै अख्तियारमा उजुरी परेसँगै आयोगले स्थलगत निरीक्षण गरेको बुझिएको छ ।

आयोगको इटहरी कार्यालयका स्वास्थ्य क्षेत्र हेर्ने अनुसन्धान अधिकृत दिवस अधिकारीले प्रतिष्ठानका धेरै विषयहरुमा उजुरी परेकोले सोको स्थलगत अनुगमन गर्न गएको बताए । ‘प्रतिष्ठानका विषयमा हामीसँग धेरै उजुरीहरु छन् ति मध्ये केही विषयमा स्थलगत अनुगमन र निरीक्षण गर्नुपर्ने भएकाले हामी प्रतिष्ठान गएका थियौं ।’ अनुसन्धान अधिकृत अधिकारीले भने । उनले के विषयमा छानविन भइरहेको खुलाउन चाहेनन् ।

उपकुलपति  र रजिष्ट्रारले  प्रतिष्ठानको आर्थिक श्रोतमा आफु बस्ने आवास गृहमा महंगा विलाशिताका सामान खरिद गरी प्रतिष्ठानलाई थप व्ययभार बोकाएको भन्दै चर्को आलोचना भइरहेको थियो ।

प्रतिष्ठान श्रोतका अनुसार उपकुलपति डा. गिरीले क्वाटरमा राख्नकै लागि काठमाडौंबाट १० लाख बढी मुल्य पर्ने सोफा खरिद गरेका छन् । प्रतिष्ठानले पदाधिकारीहरुलाई आवास सुविधा दिएपनि उनले भिभिआइपी गेस्ट हाउस प्रयोग गरेका छन् । उनी आफु मात्रै भिभिआइपी गेस्ट हाउसमा बसेका छैनन्,  ड्राइभर र स्वकीय सचिबले समेत प्रतिष्ठानकै रासन पानी खाने गरेका छन् ।

यता रजिष्ट्रार डा रेग्मीले पनि आफ्नो क्वाटरमा ५० लाख भन्दा बढी प्रतिष्ठानलाई खर्च गराएको, काठमाडौं भ्रमणमा जाँदा ५ तारे होटलमा बसेर लाखौँ खर्च गर्ने गरेको, आफ्नो अलग्गै सुरक्षा दस्ता राखेर वार्षिक लाखौँ दायित्व बढाएको, कमिसनको चक्करले सिटी स्क्यान खरिद प्रक्रिया अवरोध गरेको, मातृ शिशु  भवन र फार्मेसी भवनमा कमिसन माग गरेको  लगायतका आरोप लाग्ने गरेको छ।

१० लाखको मदिरापान गर्ने शिशाको महल !

डा. गिरीले आफु बस्ने गेस्ट हाउसको बगैंचा बनाउन मात्रै २ लाख खर्च गराएका छन् । आवासको हिँड्ने बाटो बनाउन १० लाख रुपैया खर्चिएका छन्, भने प्रतिष्ठानको खर्चमा मदिरा पार्टी गर्नकै लागि १० लाख लगाएर क्वाटरमा सिसाको महल बनाएका छन् । यसैगरी,प्रतिष्ठानको सम्पत्ति सिध्याउन तल्लीन उपकुलपतिलाई चिकित्सक, शिक्षक, कर्मचारीले समयमा तलब नपाएकोमा कुनै चिन्ता छैन । तर, आफ्ना लागि भने महंगा विलाशी सामान जोड्ने हतारो छ ।

‘प्रतिष्ठानको सञ्चित बजेट सकिइसक्यो, सञ्चयकोष खाली भइसक्यो तर, उपकुलपति र रजिष्ट्रारलाई चासो र चिन्ता छैन ।’ सिनियर कर्मचारीले भने । उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. रेग्मीले प्रतिष्ठानको सवारीसाधन पनि अत्याधिक दुरुपयोग गरेका छन् । डा. गिरी र डा. रेग्मीले एउटा पजेरो गाडी काठमाडौंमा राखेका छन् । एउटा एसयूभी गाडी प्रतिष्ठानमा राखेका छन् । दुबैजनाले प्रतिष्ठानकै खर्चमा ड्राइभर, स्वकीय सचिबहरुलाई महंगो प्लेन टिकट काटेर काठमाडौं ल्याउने लैजाने समेत गरिरहेका छन् ।

प्रतिष्ठानको नियमले सबैलाई प्रतिष्ठानको खर्चमा प्लेन चढ्ने, महंगा होटलहरुमा बस्ने छुट दिएको छैन । कुनैपनि  पदाधिकारी र कर्मचारी कार्यालय प्रयोजनार्थ बाहिर जानुपर्ने भए त्यसको समुचित कारणसहित सवारी साधन तथा भत्ता पास गराएर खर्च गर्नुपर्ने हुन्छ । तर, प्रतिष्ठान बनाउन भन्दा पनि भत्काउन लागि परेका उपकुलपति र रजिष्ट्रारले सरकारी सम्पत्ति र बजेटमा बाह्रैमास दोहन गरिरहँदा  सरोकारवालाहरु आँखा चिम्लिएर बस्नु चैं अर्को आश्चर्यको कुरा हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी