काठमाडौं, ७ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको बताएका छन् । तर समस्याको जड ओली हुँदैमा आफु छाडेर नहिड्ने समेत बताए ।
युवा संघको भेलालाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अध्यक्ष ओलीसँग नछुट्टिने तर त्यसका लागि सबैले विधानका आधारमा चल्नुपर्नेमा जोड दिए । विधान अनुसार भन्दा पनि ओलीले पार्टीलाई आफ्नो स्वास्र्थ अनुसार चलाएको नेता नेपालको आरोप थियो । उनले भने, ‘तीन वर्षसम्म पार्टी आफैसबैतिर काईलागेको थियो, खिया लागेको । खियालाई हामी विस्तारै हटाउँदैछौं । काईलाई हटाउँदै छौं । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौं । गन्हाएको थियो मुख । फेरि हामीले त्यो फोहरमैलालाई तुतपेस्टले क्लियर पारेर सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ ।’
फ्रेस अक्सिजन र प्राणवायु भनेको मार्क्सवादको विचार भएको भन्दै नेता नेपालले भने, जसरी शरीरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ । त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउँछौं ।
नेता नेपालले ओलीसँगको मायाप्रिती झण्डै ४९ वर्षको भएको भन्दै एक रातमा नछुट्टिने पनि बताए । ‘मैले भनेको छु, विधानका आधारमा अगाडि बढौँ । प्रत्येक व्यक्ति कमिटी र संगठनको मातहतमा हुन्छ । केपी कमरेडले त्यो स्वीकार गरे हामी सँगै जाने पक्षमा छौँ । हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौँ ।’
उनले नेकपाको एकता खारेज गराउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि समेत जनाए ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलाले जन्मिसकेको बच्चालाई गर्भमै लैजान भने जस्तै भएको नेपालको टिप्पडि थियो । ‘यो जन्मेको बच्चा मान्दैनौं फेरि गर्भमा लैजाउ भनेजस्तै फैसला हो । बच्चा जन्मिइसकेको छ । नयाँ संगठन अस्तित्वमा आइसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भए तापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौं भन्न मिलेन । नाम मिलेन, नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौं भन्न्ने । त्यो फैसलामा बहस फैसला त गर्दैगरौला तर हामी निर्णय मान्न बाध्य छौं ।’