चैत्र ६ काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक भोलिदेखि बस्ने भएको छ । तर यस बैठकमा समानान्तर गतिविधि गर्दै आएको खनाल नेपाल समुह सहभागी नहुने भएको छ ।
सर्वोच्चले फागुण २३ गते पूर्व एमाले र माओवादी ब्युताईदिए पछि एमालेमा फर्र्किएका सो समुह सम्बद्ध नेतालाई अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुहको बैठक राखेर जिम्मेवारी खोस्ने लगायत विभिन्न निर्णय गरे पछि नै खनाल नेपाल समुह आक्रामक बन्दै आएको छ ।
सो समुहले दुई दिने राष्ट्रिय भेला समेत काठमाण्डौमा सम्पन्न गर्दै फागुण २८ गतेको निर्णय खारेज गर्न माग गरेको छ ।
दुबै समुहका शीर्ष नेताबीच धुम्बाराहीमा वार्ता भए पनि सहमति नभए पछि भोलिको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी हुने देखिएको छ ।
खनाल नेपाल समुहको आज बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
सो पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको पनि जनाएको छ ।
एमाले उपाध्यक्ष भीम रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने जानकारी दिए ।