चैत्र ४, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहानका लागि बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएको छ ।
एमाले संसदीय दलका नेता ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । समसामयिक राजनीति र पार्टीभित्रको विवादको विषयमा छलफल गर्न बैठक बोलाईएको हो ।
एमालेको नेपाल पक्षीय नेता योगेश भट्टराईले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताए । राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाह पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकोले आफूहरू उपस्थित हुन नसक्ने भट्टराईको भनाई छ ।
संसदीय दलमा जान कुनै समस्या नरहेको तर बिहीबार बोलाइएको बैठकको समय अनुकूल नभएकोले उपस्थित हुन नसक्ने जानकारी गराइसकिएको पनि उनले बताए ।
संसदीय दलको बैठक शुक्रबार बिहान राख्दा पनि हुने भट्टराईको भनाइ थियो । दिउँसो संसद् बैठक रहेको र त्यसभन्दा अगाडि बैठक राख्दा उचित हुने उनले सुझाए ।
नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलामा उपस्थित भएमा कारबाही गरिने एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेर मंगलबार नै चेतावनी दिएका थिए ।