चैत्र ३ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि ओलीले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका हुन् । यो चियापानमा झलनाथ खनाल र माधव कुमार नेपाल भने सहभागी नहुने भएका छन् । उनीहरुले फागुण २८ मा माधव पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने निर्णय फिर्ता गर्नु पर्ने माग गरे पनि प्रधानमन्त्री ओली त्यसका लागि तयार नभएका कारण सहभागी नहुने भएका हुन् ।
बरु उनीहरुले भोली र पर्सी राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन् । सो समुह ओली समुहले गरेको निर्णयको प्रतिवाद गर्दै समानान्तर समिति बनाएर अघि बढ्ने उद्घोष सहित संघर्ष गरीरहेका छन् ।
फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।
पार्टीलाई एकतावद्ध गराउने भन्दै हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको ओली–नेपाल पक्षको बैठक ठोस निष्कर्षमा पुगेको थिएन् ।