फागुण २९ काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका षड्यन्त्रका तानावुनाले आफूलाई कुनै फरक नपर्ने दाबी गरेका छन । उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै प्रचण्ड र माधव नेपालप्रति व्यग्य गरे । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं, त्यस्ता षड्यन्त्रले केही असर गर्दैन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने ।
प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट आफूलाई हटाउन चुनौती दिए । कसैले हटाएपनि नेकपा(एमाले) २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने ओलीको दाबी छ ।
उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाइ छ ।
उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नका लागि , काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ? उहाँहरु आएपछि सल्लाहसँग गरुँला । काम त चलाउँदै गर्नुप¥यो नि हामीले । त्यो जिम्मा दिँदा खेरी फेरी दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ । किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि । ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडी बढ्ने बढौँला ।’ ओलीले नेपाल खनाललाई आव्हान गरे ।
बैठकमा अनुपस्थित भए खनाल नेपाललाई विधान बमोजिम कारबाही हुने उनले बताए । उनले भने – ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदाबारी भएर हिँड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभएको भन्ने सुनियो । बैठकमा आइपुग्नु भएको छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । चैत्र ७ गते बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन । २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभयो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्ने गरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला ।’ ओलीले भने ।