फागुण २८ काठमाण्डौं । बालुवाटारमा सत्ता साझेदारीका बिषयमा एमालेसँगको छलफल सकारात्मक रहेको भनिएकै बेला जसपाका नेताहरु आज बुढानिलकण्ठमा काँग्रेस सभापति शेर बहादुर देउवा निवास पुगेका छन् ।
देउवा निवासमा भएको छलफल पनि सकारात्मक भएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग सहकार्यको बारेमा सकारात्मक छलफल भएको भनिएका बेला जसपाका नेताहरु बुढानिलकण्ड पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जसपाका नेताहरुले माओवादी केन्द्रसँग समेत छलफल गर्ने जनाएका छन ।
आज एकाएक जसपाका अध्यक्ष महन्त ठाकुर प्रधानमन्त्री हुने समेत चर्चा चल्न थालेका बेला काँग्रेस नेताहरुले जसपासँगको छलफल सकारात्मक रहेको बताएका छन् ।
शनिबार पुनः दुई पार्टीबीच छलफल हुने जनाईएको छ । जसपा, काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन तयार भएमा प्रधानमन्त्री ओलीको बहिर्गमन निश्चित छ ।
अर्कोतिर आफ्नै पार्टी भित्र समेत एकलौटी अघि बढेका प्रधानमन्त्री ओली बिरुद्ध माधव नेपाल , झलनाथ खनाल र वामदेव गौतम समेत कस्सिएर लाग्ने संभावना देखिएको छ ।
यस्तो स्थितिमा जसपाको समर्थन लिएर सत्ता लम्ब्याउने प्रधानमन्त्रीको प्रयास कति सफल हुने हो वा होईन त्यो भने हेर्न बाँकी रहेको जानकारहरु बताउछन् ।