फागुण २८ काठमाडौं । यस अघि पार्टी भित्र देखिएको अन्तरविरोधको प्रभाव स्वरुप आक्रामक रुपमा प्रस्तुत भएको एमाले ओली समुहले माधव नेपाल समुहका नेताहरुको जिम्मेवारी खोसेको छ ।
माधव नेपाल, झलनाथ खनाल लगायतका नेतालाई थाहै नदिई बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेर नेपाल समुहका नेताको सबै जिम्मेवारी खोसिएको छ भने पूर्व माओवादी समुहबाट एमालेमा प्रवेश गरेका राम बहादुर थापा सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
यो सँगै एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति बनेको छ । यस बाहेक एमालेको पूर्व जिम्मेवारी अनुसारै महासचिवमा ईश्वर पोखरेल राखिएको छ भने अध्यक्ष ओली बाहेक अन्य पदाधीकारी खारेज गरिएको छ ।
२०७१ मा भएको नेकपा (एमाले)को नवौं महाधिवेशनबाट उपाध्यक्षमा विद्यादेवी भण्डारी, बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य र युुवराज ज्ञवाली चुनिएका थिए ।
यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । बैठकले पार्टीको दशौं महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
बैठकले प्रदेशका इन्चार्ज पनि परिवर्तन गरेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।
एमालेले चैत १ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठक अघि नै शुक्रबार बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएर ओलीले पदाधिकारी हटाउँदै नेपाल पक्षका नेताहरुलाई दिएको जिम्मेवारीबाट पनि बर्खास्त गरेका हुन् ।
ओलीको यो कदमप्रति आश्चर्यचकित बनेको माधव झलनाथ समुहले कडा प्रतिवाद गर्ने चेतावनी दिएको स्रोतले जनाएको छ ।
अब केन्द्रीय समितिको बैठक चैत्र ७ गते बस्ने छ । यो बैठकमा माधव नेपाललाई पनि खबर गर्न निर्देशन भएको जनाईएको छ ।