वीरगन्ज (पर्सा), २१ फागुन । नेपाल भारत सीमा क्षेत्रका नेपाली सीमावर्ती वस्तीहरुमा प्रयोग गरिएका औषधीजन्य पदार्थलाई सरसफाई गरेर तस्करी गर्ने गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा, इनर्वा स्थित सीमा क्षेत्रमा प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरुलाई सरसफाई गरेर तस्करहरुले भारत तर्फ तस्करी गर्ने गरेको स्थानीयहरुको आरोप छ ।
वीरगन्जमा भन्सार क्षेत्रमा रहेको रजतजयन्ती चोक क्षेत्र आसपासका वस्तीकै बीचमा अस्पतालहरुमा फालिएका औषधीजन्य पदार्थलाई संकलन गरि ल्याएर सरसफाई गर्ने गरिएको छ । वीरगन्जका अस्पतालहरुको मात्र नभई काठमाडौैं देखि नेपालका विभिन्न जिल्लामा रहेका अस्पतालहरुमा प्रयोग गरेर फालिएका स्लाइन बोतलका पाइप, पञ्जा तथा सिरिन्जहरुलाई सरसफाई गर्ने गरिएको कारण त्यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परि रहेको स्थानीयहरुको आरोप छ ।
बाहिरबाट संकलन गरेर ल्याएका स्लाइन बोत्तलका पाइप, पञ्जा सिरिञ्जहरुमा विरामीको रगत लागेको र त्यही सामानहरुलाई गरिब, असहाय परिवारका अनभिज्ञ सोझासाझा नागरिकहरुलाई काम गराउने भन्दै तस्करहरुले औषधीजन्य प्लाष्टिकको पदार्थहरुलाई सरसफाई गर्न लगाउने गरेका छन् । सिरिञ्ज सरसरफाई गर्ने खास गरेर गरिब, असहाय परिवारका वृद्धा महिलाहरु रहेका छन् । ति सिरिञ्ज, पाइप र पञ्जालाई सरसफाई गर्दा त्यसबाट सर्ने किटानुबाट आफू पनि संक्रमण हुन सक्ने चेतना समेत नभएका त्यस्ता व्यक्तिहरुलाई काम दिने प्रलोभनमा पारेर तस्करहरुले केही पैसा दिएर सरसफाई गराएर भारततर्फ तस्करी गर्ने गरेका छन् ।
प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरु जताततै छरिएको कारण त्यसबाट त्यस बस्तीका आम नागरिकहरु पनि विभिन्न खाले रोगको शिकार हुने गरेका छन् । त्यसमा पनि साना साना बालबालिकाहरुले खेल्ने क्रममा ति वस्तुहरुलाई उठाएर खेल्दा अर्थात हात, मुखमा लगाउँदा झन संक्रमण फैलेर विभिन्न खाले रोगको शिकार बन्नु परेको स्थानीयहरुको भनाई छ । चारैतिरबाट फोहोर संकलन गरेर ल्याउँछन्, सरसफाई गर्न लगाउँछन् र त्यसलाई प्लाष्टिकको कचरा भनेर तस्करहरुले प्रहरी प्रशासनको मिलोमतामो भारत तर्फ निर्यात गर्दै आएको उनीहरुको भनाई छ ।
यसबारे पर्साका प्रशासनदेखि स्थानीय निकायका प्रतिनिधिहरुपनि अनभिज्ञ छन् कि जानी जानी छुट दिएका छन्, त्यो बुझ्न सकिएको छैन । सीमावर्ती क्षेत्रमा दिनहुँ तस्करी हुने गरेको अवस्थामा त्यही मौका छोपी तस्करहरुले नेपालबाट भारततर्फ प्लाष्टिकको फोहरको नाममा प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरुलाई सरसफाई गरेर तस्करी गर्ने गरेका छन् ।