फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द विप्लवको कदमले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।
राष्ट्रिय सभा गृहमा शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन ओलीले जनताले शान्ति खोजेको अवस्थामा विप्लवको एक कदमले जनताको सो आकाँक्षा पुरा भएको बताए ।
नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताउदैँ प्रधानमन्त्री ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन गरिरहेको छैन । यसको अर्थ नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ ।’
प्रधानमन्त्री ओलीले विप्लवसँग को वार्ता रातारात नभएको पनि बताए । उनले भने, सरकार र नेकपाबीच रातारात सहमति भएको होइन, वर्षौँदेखि वार्ता चलिरहेको थियो।
ओलीले वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आउने विप्लवको कदम साहसिक भएको भन्दै प्रशंसा समेत गरेका थिए । उनले भने, जोसुकैले एउटा कार्यदिशा, बाटो समातेर हिँडिरहेको ठाउँमा कार्यकर्तालाई मोड्न सक्दैन । तर उहाँ त्यसमा सफल हुनुभयो। यो साहसिक कदम हो । यो फोर्स ल्यान्डिङ पनि होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो ।’ सेफ ल्यान्डिङ् भयो, उहाँले त्यो योगदान गर्नुभएको छ ।’
आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर नेकपाका नेता तथा कार्यकर्तालाई छोडिने बताए।‘जुन साहसिक कदम चाल्नु भएको छ, ऐतिहासिक कदम चाल्नु भएको छ । त्यसको लागि धन्यवाद । नेपाली जनताले नेपाली समाज, राष्ट्रले शान्ति खोजेको छ । नेपाली जनतालाई चाहिएका कुरामध्ये राष्ट्रियताको रक्षा, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, लोकतन्त्रको सृदृढीकरण, सामाजिक न्याय र समानता, भयपूर्ण वातावरणमा बाँच्न पाउने चाहना हो,’ ओलीले भने
प्रधानमन्त्री ओलीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको पनि बताए । प्रचण्ड र माधवलाई लक्षित गर्दै ओलीले भने ‘एउटा भ्रम छर्न खोजिएको छ तर हामीले कसैलाई पनि अनुचित ढंगले प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ । गर्दैनौँ पनि ।’
आफ्नो पार्टीको दुईतिहाइ भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री खाइदिनूस् भन्दै बिन्ती गरिराखेको भन्दै ओलीले भने, ‘उहाँहरुको गतिविधि देखेर अचम्म लाग्छ । न उहाँहरुको दलको टुंगो छ न नामको टुंगो छ। त्यही पनि उहाँहरू बैठक गरिरहनुभएको छ।’
मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको लागि आफूले संसद विघटन गर्ने बाध्यता रहेको पनि उनको दावी थियो ।