काठमाडौं, फागुन १८ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली गठन गरेको छ। नेकपाका महासचिव विप्लवले पनि केहि समयअघि विज्ञप्ति निकालेर सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए ।त्यसपछि सरकारले वार्ता समिति बनाएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो।
मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव नेकपाले पनि वार्ता समिति बनाउने तयारी गरेको छ ।
नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा समिति बन्ने स्रोतले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक समूहसँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।