फागुण १३ काठमाण्डौं । नेपाली कांग्रेसले नेकपाको विवादबारे कानुनी रुपमा किनारा लागे पछि मात्रै सहकार्यको बारेमा निर्णय गर्ने निष्कर्ष निकालेको छ ।
आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा नेताहरूको बैठकले यस्तो निश्कर्ष निकालेको हो।
यस अघि नेकपा प्रचण्ड माधव समुहले सहकार्यका लागि देउवालाई प्रस्ताव गरेका थिए । त्यस प्रस्तावका विषयमा उनले पार्टी पदाधीकारीको बैठक राखेर छलफल गराएका थिए ।
बैठकमा नेताहरूले सरकार समिकरणका संभावना र सहकार्यका विकल्पबारे छलफल गर्न नहुनेमा जोड दिएका थिए। बैठकपछि सह–महामन्त्री डा. प्रकाशसरण महतले बैठकमा नयाँ राजनीतिक घटनाक्रमबारे छलफल भएको र अहिले नै नयाँ सरकारका लागि कसरी सहकार्य गर्ने भन्नेबारेमा केही निर्णय नभएको बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेस सरकारमा जानु ठूलो गल्ती हुने र यसले पार्टीलाई दीर्घकालीन रुपमा हानी हुने बताएका थिए।
यदी नेकपा कानुनी रुपमा विभाजित भएमा दुई समुहबीच सहकार्यको संभावना कम रहेकाले जुनसुकै समुहलाई पनि सरकार बनाउन काँगेसको साथ अनिवार्य छ ।