काठमाडौँ, ११ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई खारेज गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् ।
उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरे । कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएकोसमेत सभापति देउवाले स्पष्ट पारेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको उनले विज्ञप्तिमा जनाएका छन् ।
यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् । उनले भने, संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र, यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद ।’
अर्का नेता डा. शेखर कोइरालाले सर्वोच्चको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको बताएका छन् । नेता कोइरालाले भनेका छन्, – ‘आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ । साथै देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायलय प्रति गर्व भएको छ ।’
कांग्रेसका प्रवक्ता विश्व प्रकास शर्माले सर्वोच्चको फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको बताए । उनले भनेका छन्, ‘न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’
कांग्रेसका युवा नेता गगन थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन्।