फागुण ११ विराटनगर । मोरङ जिल्ला अदालतमा म्याद थप्न लगिएका दुई जना थुनुवा अदालतबाटै हतकडी सहित फरार भएका छन् । ती दुवै जना अभियुक्त लागू औषध मुद्धामा थुनामा रहेका थिए । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । दुवै जनालाई ५÷५ दिनको म्याद थप गराएपछि अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएका थिए ।
उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले अहिले उनीहरुको ब्यापक खोजी गरीरहेको छ । अहिले म्याद थप गर्न लाने प्रहरीमाथि अनुसन्धान थालिर्एको मोरङ प्रहरीले जनाएको छ ।