फागुण ९ जनकपुर । धनुषाको जनकपुरमा आफ्नै नाबालक छोरालाई अपहरण गरेर आफ्नै घरमा फिरौती माग्ने रमेश दास र अपहरणमा संलग्न बालकका दुई मामालाई प्रहरीले पक्राउ गरेको छ । घटना शनिबारको हो । पक्राउ पर्नेमा बालकका बुवा दास र उनका माम लक्ष्मेस्वर दास र अर्का एक जना रहेका छन् ।
जिल्लाको नगइराइन नगरपालिका-६ निवासी रमेश दासका ७ वर्षीय छोरा चन्दनलाई प्रहरीले सकुशल उद्धार गरेको हो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटेको टोलीले दिउसो १ बजेदेखि हराएको चन्दनलाई राति ८ बजे उद्धार गरेको हो।
बच्चा अपहरणको नाटक गरेर उनीहरुले एक करोड फिरौती लिएर आउ नत्र बच्चालाई मारिदिने भन्दै घरमा फोन गरेका थिए ।
रमेशले आफ्ना बुबा हरिचनसँग रकम असुल्न आफ्नै छोरा अपहरणको नाटक गरेको आशंका प्रहरीले गरेको छ । यद्यपि, यसबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।