फागुण ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डप्रति आक्रामक व्यग्य गरेका छन् । आज विराटनगरमा आयोजित ओली समुहको सभालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले पहिला बैद्य समातेका प्रचण्डले बैद्यले छाडे पछि डाक्टर समातेको र डाक्टरले छाडे पछि अहिले झाँक्री समातेको भन्दै अब प्रचण्डको नियति असफलता बाहेक केही नभएको दाबी गरे ।
दुई चार सिटमा सिद्धिन आँटेका प्रचण्डलाई माया लागेर आफूले दुई चार वटा जुरो हालिदिएको तर मात्तिएर आफैलाई सिध्याउन खोजेको भन्दै अब नेपाली राजनीतिमा प्रचण्ड सफल हुन नसक्ने ओलीको दाबी छ ।
मरि तरी दुई चार हजार मान्छे जम्मा पारेर ओली जी, सभा हेर्न यता आउनुस् भनेर आफूलाई भनिएको भन्दै वास्तविक सभा हेर्न विराटनगर आउनु्, ओलीले प्रचण्ड माधव नेपाललाई भने ।
आज आफूहरुले विराटनगरमा आयोजना गरेको सभालाई कसैको ड्रोनले पनि पुरै खिच्न नसक्ने भन्दै चन्द्रमाले मात्रै यो सभालाई पुरै देख्ने ओलीले जिकिर गरे ।
मान्छेहरु पर पर सम्म बसेर हेरीरहेका छन्, कोही घर घरमा बसेर टेलिभिजनमा हेरिरहेका छन्, बरगाछीतिर, तिनटोलीया तिर जता ततै मान्छे नै मान्छे छन्, ओलीले आफ्नो सभाबारे भने ।
उनले देशभर आफूले विकासको लहर चलाएको भन्दै अर्को बर्ष सम्ममा विकाससील मुलुकमा स्तरोन्नती हुने बताए ।
प्रचण्ड माधव पक्षले झुक्याएर हिजो गराएका हस्ताक्षरहरु फिर्ता लिदै आफूसगँ गोलवद्ध हुने क्रम बढेको पनि ओलीले दाबी गरे ।
यदी प्रतिनिधि सभा पुनस्थापित भयो भने, सांसद किनबेच, सरकार बनाउने ढाल्ने खेल शुरु हुने देश फोहोरी खेलमा जाने ओलीले बताए ।
ताजा जनादेशमा जानुको विकल्प नभएकाले आफूले संसद विघटन गरेको प्रधानमन्त्रीले दाबी गरे ।
कुनै पनि भ्रम र अन्योलमा नपरेर निर्वाचनको तयारीमा लाग्न उनले अपील गरे ।
आफुले ४७ सालमा निर्वाचन आयोगमा गएर सूर्य चिन्ह दर्ता गराएको भन्दै सूर्य चिन्ह माग गर्दै प्रचण्ड निर्वाचन आयोगमा माग्न जाँदा तपाईहरुलाई हाँस उठेन ? ओलीले भने ।
उनले आफू महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाएर कार्की ब्याङक्वेटबाट अध्यक्ष भनिदिएकामा मख्ख परेर हिँडेको भन्दै माधव नेपाललाई केटाकेटी जस्तो मलाई यही खेलौना चाहिन्छ भनेजस्तो गरीरहेको भन्दै ब्यग्य गरे ।