काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतमा दुई महिनादेखि जारी प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा बहस सकिएको छ । शुक्रवार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि बहस सकिएको हो।
यसअघि एमिकस क्यूरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरेका थिए।
बहस सकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन १० गतेभित्र बहस नोट दिन माग गरेको छ। १० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।संवैधानिक इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीमा चयन भएका कानुन व्यवसायीलाई १० गतेभित्र बहस नोट दिन आग्रह गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गते मुद्दा हेर्दाहेर्दैमा राखेको बताएका छन्।१० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान्छ । ११र १२ गतेसम्म जति पनि जान सक्छ, जबराले भने, हेर्दाहेर्दैमा पनि सकिन सक्छ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियो भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका थिए। रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै पुस १० गते संवैधानिक इजलाशले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयलाई लाई प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ पेस गर्न आदेश दिएका थियो।
त्यसपछि रिट निवेदकले संसद विघटन मुद्दाको सुनुवाइ वृह्तपूर्ण इजलासमा हुनुपर्ने माग गर्दै फेरि रिट हालेका थिए। तर, प्रधानन्यायाधीश राणाले ठाउँ अभाव देखाएर मुद्दाको सुनुवाइ वृहतपूर्ण इजलाशमा नभइ संवैधानिक इजलासमै गर्ने आदेश दिएका थिए। ।
संसद विघटन असंवैधानिक भन्दै करिब साढे तीन सय बढी कानुन व्यवसायीले बहस गरेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ।