फागुण ६ काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी मुख्यालय सानेपामा बैठक दिँउसो बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ ।
कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा हिजोको बैठकमा राखेका थिए ।
सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने भन्दै शसक्त आन्दोलनको कार्यक्रम ल्याउन मानिरहेका छैनन् ।
आज पौडेल र सिटौला समुहको दबाबमा काँग्रेसले आन्दोलनको कार्यक्रम ल्याउन सक्ने अनुमान गरिएको छ ।