फाल्गुन ५, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ । बुधवारको बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।
यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।
पूर्व निर्धारित तालिकाअनुसार यही फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो। तर कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि दुई दिनअघि मात्र कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने निर्णय गरेको हो। निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि एक वर्षअघि नै सकिएकोमा पार्टीको विधानअनुसार एक वर्ष थपिएको थियो। थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संवैधानको विशेष प्रावधानको सुविधा उपयोग गर्दै छ महिनामा थपिएको हो। बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने बताएका छन् । बैठकमा उनले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा,अविश्वास प्रस्तावको पक्षमा र संवैधानिक निकायमा भएका नियुक्तिको खारेजी गर्नुपर्ने निर्णय पार्टीले गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
अहिले कांग्रेसभित्र सबैभन्दा पेचिलो विषय नै क्रियाशिल सदस्यता बनेको छ । अहिले पाँचलाख क्रियाशिल सदस्य छन् र थप पाँच लाख वितरण गर्ने भनिएको छ। तर त्यसको मापदण्ड र विधि निश्चित नहुँदा सुरुमै विवाद भएको छ। क्रियाशिल वितरणसँगै सुरु भएको आन्तरिक किचलोले त्यो प्रभावित भएको छ। चुनावी अंकगणितलाई आफू अनुकूल बनाउन नेताहरूले मनपरी ढंगल क्रियाशिल सदस्यता बाँड्न थालेपछि विवाद भएको हो।
बैठकमा महामन्त्री खड्काले पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि तोकिएकामा उक्त क्रियाशील सदस्यको ‘अवधिसम्बन्धी व्यवस्था’ निलम्वन गर्ने प्रस्ताव प्रस्तुत गरे । तर पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिका लागि यो व्यवस्था निलम्वन भएको नमानिने पार्टीको विज्ञप्तिमा उल्लेख छ ।
अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधि गणना गर्दा कांग्रेसको जुन पदमा हाल समायोजन भएका छन्, उक्त पदका लागि आवश्यक अवधि पुगेको मानिने छ । उक्त अवधि आवश्यकपर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् । तर पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने पदमा उम्मेदवार हुन पाउनेबाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।
बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरल्याण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरब, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्गस्थित नेपाली जनसम्पर्क समितिको छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी असार ७ गते प्रस्ताव गरिएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रस्तुत प्रस्ताव उपर आज वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य बीरबहादुर बलायरले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको दोगडाकेदारमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाका बारेमा स्थलगत अध्ययन गरी केन्द्रीय प्रतिनिधिका रुपमा ल्याउनुभएको प्रतिवेदन पेश गरेका थिए ।