फाल्गुन ५,हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक एकाबिहानै सूचना टाँसेर स्थगित गरिएको छ ।मंगलबार प्रचण्ड–नेपाल समूहको दबाब र सर्वदलीय बैठकपश्चात् प्रदेशसभा बैठक बोलाउने प्रतिबद्धता जनाएका सभामुख श्रेष्ठले सत्तापक्षको दबाबका कारण पुनः एकाहिानै बैठक स्थगित गरेका हुन् ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् ।
बिहान ६ बजेर ३५ बजे सूचना जारी गर्दै सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी सांसदहरुलाई दिएका थिए । सत्तारुढ नेकपाका पचण्ड–नेपाल समूहका ४५ जना सांसदहरुले प्रधानमन्त्री ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएसँगै वाग्मती प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दबाबमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीले आफू वरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताए पनि प्रदेशसभामा भने रोक्न कोसिस गरिरहेका छन् ।
अविश्वासको प्रस्तावको विषयमा दलगत रुपमा धारणा राख्ने गरी तयारी गरिएको भए पनि सत्तापक्षबाटै सदन अवरुद्ध हुने संकेत आएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।