फागुण १ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले जनयुद्धको सर्वोच्च कमाण्डर आफै भएको र शान्ति प्रकृया र संविधान सभाको अगुवाई पनि आफैले गरेको बताएका छन् ।
राजधानीमा गंगा कार्की विश्वले लेखेको पुस्तक दुसाध्य जनयुद्ध नामक पुस्तक सार्वजनिक गर्दै प्रचण्डले जनयुद्धमा व्यक्त सपना पूरा गर्ने मुख्य जिम्मेवारी आफ्नै भएकाले आफू सबै भन्दा ठूलो रिणी रहेको बताए ।
उनले जनयुद्धलाई शान्तिमा रुपान्तरण नगरेको भए आफूहरुले जीत्न सक्ने स्थिति नभएकाले शान्ति र संविधानतिर आफू आएको बताए । राष्टिय अन्तराष्ट्रिय परिस्थिति हेर्दा पेरुको जस्तो नहोस् भन्ने लागेर त्यो बाटो भयानक हुने भएकाले शान्तिको बाटोमा आएको जिकिर गरे ।
उनले कतिपयलाई जनयुद्धलाई शान्ति र संविधानका नाममा ल्याएर प्रचण्डले बर्बाद पार्यो भन्ने परेको पनि बताए ।
आफूले ठोस परिस्थितिको ठोस विष्लेषण गरेर निर्णय लिएको पचण्डले दाबी गरे ।
यस अघि आजै जीवनगाथा नामक अर्को पुस्तक सार्वजनिक गर्दै प्रचण्डले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।
जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को विमोचन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए ।
बारबर्दिया नगरपालिका बर्दियाका प्रमुख दुर्गाबहादुर थारूले अहिलेसम्म सबैभन्दा बढी नागरिक बेपत्ता पारिएको बर्दिया जिल्ला र जनयुद्धका शहीदहरुलाई राज्यले सम्मान बेवास्ता गरेको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) द्वारा विसं २०५२ फागुन १ देखि विसं २०६२ सम्म सञ्चालित जनयुद्धकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो ।
तत्कालीन समयमा दुई हजार ५०० बढी व्यक्ति बेपत्ता पारिएको पहिचान गरिएको छ । बर्दिया जिल्लामा मात्रै २५० नागरिक बेपत्ता बनाइएको छ ।