माघ २७ जनकपुर । विप्लव नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रतिवन्ध यताकै सबै भन्दा लामो सजाय अदालतले सुनाएको पाईएको छ । २०७६ साल फागुण २९ गते उदयपुरबाट पक्राउ परेका संखुवा सभाका दिपक विष्ट सहित १४ जनालाई धनुषा जिल्ला अदालतका एक नं न्यायधीश ब्रजेश प्याकुरेलले सोमबार सजाय तोकेका हुन् ।
१४ जना पक्राउ परेका मध्य चार जना यस अघि नै नाबालक भएकाले छुटेका थिए भने १० जना महोत्तरीको जिल्ला कारागार जलेश्वरमा रहेका छन् ।
अदालतले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्न अझै केही दिन लाग्ने स्रेस्तेदार विकास बस्नेतले मिर्मिरेलाई जानकारी दिए ।
उनीहरुमाथि अपहरण तथा शरीर बन्धक, हात हतियार तथा खरखजाना, विष्फोटक पदार्थ, संगठित अपराध, आपराधीक लाभ जस्ता मुद्धा लगाईएको थियो । ती मुद्धा मध्य अपहरण तथा शरीर बन्धकमा ७ वर्ष कैद र ७० हजार जरीवाना, हात हतियार खरखजानामा २ बर्ष कैद र २० हजार जरीवाना एवं विष्फोटक पदार्थ सम्बन्धि मुद्धामा एक बर्ष कैद तोकिएको छ ।
यो कुल जोडेर १० वर्ष कैद हुने भए पनि एउटै मुद्धामा अधिकतम सजाय भएको मुद्धाको सजाय अवधि सकिए पछि अरु भोग्न नपर्ने उनीहरुको पक्षमा मुद्धा लडेका वकिल उद्धब खत्रीले बताए ।
जेलमा रहेकाहरुका परिवारहरुले भने अब पुनरावेदन गर्ने तयारी गर्ने बताएका छन् । उनीहरुले यो राजनीतिक मुद्धा भए पनि पूर्ण अपराधी जस्तो अदालतले ठहर गरेको भन्दै पुनरावेदन जाने बताएका छन् ।
यसरी सजाय पाउनेहरुमा :
१. दीपक विष्ट संखुवासभा
२.मणिराम राई, भोजपुर
३.राम राई, भोजपुर
४.आयुष मगर, भोजपुर
५.मुस्कान राई, ईलाम
६.क्षेत्र बहादुर तामाङ, उदयपुर
७.सन्तोष तामाङ, उदयपुर
८.रिता कार्की, सर्लाही
९.अनुष्का राउत, कैलाली
१०.आयुषा लिम्बु, तेह्रथुम रहेका छन् ।
धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी करिना तामाङको घरमा उनीहरु पार्टीको अभियानको बेला पुगेको र सो बेला ती बालिकाले आफू पनि जाने भनेर गएको तर उनको दाजुले अपहरण भनेर प्रहरीमा जाहेरी दिएका आधारमा यो अपहरण तथा शरीर बन्धक मुद्धा चलेको देखिएको छ ।
यस्तो लामो सजाय जेलमा रहेका सो पार्टीका उच्च स्तरीय नेताहरु हेमन्त प्रकाश वली, धमेन्द्र बास्तोला लगायतलाई अन्यलाई यति लामो सजाय तोकिएको छैन ।
२०७५ फागुण २८ मा सरकारले प्रतिवन्ध लगायतर धमाधम नेता कार्यकर्ता पक्राउ गरिए पनि धेरै जसोले अदालतको आदेशमा रिहा हुँदै आएका थिए ।
हाल सम्म प्रतिवन्ध यता सरकारले ईन्काउन्टरका नाममा सो पार्टीका तीन कार्यकर्ताको हत्या गरेको छ भने सो विद्रोही नेकपाका कार्यकर्ताको गोलीबाट एक प्रहरी जवानको ज्यान गएको थियो भोजपुरमा । अन्य आन्तरीक दुर्घटनामा परेर सो पार्टीका आधा दर्जन बढी कार्यकर्ताको ज्यान गएको थियो ।
चौतर्फी दबाबका बीच पनि हाल सम्म सरकारले नेकपासँग वार्ता गर्न सकेको छैन । सो पार्टीका नेताहरुले वार्ता भन्दै अलमल्याउने र समात्ने काम गरीरहेको भन्दै वार्ताका लागि तयार रहेको बताउदै आएका छन् ।