२४ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी चालक तथा व्यवसायी टुटल पठाओजस्ता सेवा पनि बन्द गर्न र भाडा बढाउन माग गर्दै आन्दोलित भएका छन् । शनिवार व्यवसायीहरुले सरकारसँग वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका बिभिन्न माग सहित आफ्ना ट्याक्सीनै सडकमा निकालेर आन्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने र निजी सवारीले भाडाका यात्रु बोक्ने गरी सञ्चालनमा ल्याईएका टुटल पठाओजस्ता सेवा पनि बन्द गर्न माग गरेका छन् ।
यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्यालीको आयोजना गरिएको बताए ।
ट्याक्सी व्यवसायको क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने पनि उनीहको माग छ ।