माघ २४, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरण गर्दा कानुनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिएकी छिन् । काठमाडौंमा शनिबार भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई कानुनभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएकी हुन् ।
उनले धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने समेत चेतावनी दिईन् ।
‘ऐनविपरीत जानुभयो भने कानुनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ’, मन्त्री तुम्बाहाङ्फेको चेतावनी थियो ।
भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत रहन पनि उनले आग्रह गरिन् ।
मन्त्री तुम्बाहाङ्फेले भनिन्, त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् । ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईँहरुलाई प्रभावित बनाउने समूह आउँछ, यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’
आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको भन्दै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन् ।
सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले विगतका आयोगले पूरा गर्न नसकेको जिम्मेवारीसमेत यस आयोगको कााधमा रहेको बताए ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूहरुमाथि ९ लाखभन्दा बढीलाई जग्गाको लालपूर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने बताए ।