माघ २३ काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक निकायमा भएको नियुक्तिको बिरुद्ध दायर गरेको रिटमा आईतबार सुनुवाई हुने भएको छ । सभामुख सापकोटा आफै पुगेर आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।
अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधानमन्त्रीले आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरिसकेकी छिन् । उनीहरुको पद तथा गोपनियताको शपथ पनि भइसकेको छ ।
यो रिटका बिषयमा सभामुख सापकोटाले आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने समेत तयारी गरेका छन् ।