माघ १९, काठमाडौँ । नेपाली सेनाले आज मध्यराति राजधानिको चक्रपथमा ‘बख्तरबन्द’ अभ्यास गर्ने भएको छ । युद्ध र अन्य संकटका बेला प्रयोग गरिने बख्तरबन्द गाडीहरुको प्रयोगसम्बन्धि अभ्यास गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
नियमित अभ्यास योजना अनुसार बेलुका १० बजेपछि चक्रपथको चक्कर लगाउने प्रवक्ता पौडेलले जानकारी दिए । अभ्यासमा मुलुकका आठ वटै पृतनाअन्तरगत मेकनाइजड युनिटहरु सहभागी हुने भएका छन् । सेनाले यो बेला गर्दै आएको तालिमको नियमित प्रक्रिया अन्तरगतको अभ्यास हो ।
अन्यत्र पर्याप्त ठाउँ नभएकाले चक्रपथलाई अभ्यासका लागि छनौट गर्नुपरेको सेनाले जनाएको छ ।
त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय-समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।