काठमाडौं, १९ माघ। संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने मागसहित परेका १३ रिटमाथिको सुनुवाईमा आजबाट सरकारको पक्षबाट बहस सुरु हुदैछ । निवेदक पक्षका कानुन व्यवसायीले आइतवार बहस सकेपछि आजबाट महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले सरकारको पक्षबाट बहस सुरु गर्ने भएका हुन् ।
निवेदकको तर्फबाट बहस गर्न चार सय १३ कानुन व्यवसायीले नाम टिपाएकोमा समय अभावले निवेदकसहित ६८ जनाले मात्र बहस गरेका थिए ।
आज बहसको सुरुवात महान्यायाधिवक्ता खरेलबाटै गर्ने महान्यायाधिवक्ता कार्यालयको तयारी छ । महान्यायाधिवक्ता कार्यालयका अनुसार महान्यायाधिवक्ता अग्नि खरेलसहित चार नायब महान्यायाधिवक्ता, पाँच सहन्यायाधिवक्ता र एकजना उपन्यायाधिवक्ताले बहस गर्नेछन् । महान्यायाधिवक्ता कार्यालयको बहस सकिएपछि प्रधानमन्त्री केपी ओलीका निजी वकिलहरूले बहस गर्नेछन् । प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने सूचीमा सयभन्दा धेरै वकिल छन् ।
त्यस्तै, सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनालीका साथै अधिवक्ताद्वय श्रीकृष्ण सुवेदी र श्यामप्रसाद खरेलले बहस गर्दै छन् । सभामुख अग्निप्रसाद सापकोटाले विघटन सही नभएको आफ्नो लिखित जवाफमा भनिसकेकाले सापकोटाका तर्फबाट बहस गर्ने कानुन व्यवसायी सरकार पक्षका अन्य कानुन व्यवसायीझैँ विघटनको पक्षमा उभिने छैनन् ।
सरकार र सभामुख पक्षको बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ । त्यसपछि निवेदकको तर्फबाट जवाफ मागेर इजलासले आदेश दिनेछ । अबको दुई सातामा बहस सकिने र फागुनको पहिलो सातासम्म आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोत बताउछ ।