१४ माघ, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् ।
ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।
उक्त कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बोलाईएको उनले बताए । अहिले नेकपाको एक समूहको ओलीले गरेका छन् भने अर्को समूहरुको प्रचण्ड र माधव नेपालले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेलगत्तै पार्टी दुई समूहमा विभाजित भएको छ तर कानुनी रुपमा भने पार्टी विभाजन भएको छैन ।
दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौज गर्दै आएका छन् । उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ छन् ।
पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै नेता गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।