नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले आफूहरु नै आधिकारीक नेकपा भएको बताएका छन् ।
नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताउँदै “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।” नेपालले भने ।
चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गरे ।
प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने बताउँदै नेता नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने बताए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको बताए । पूर्वमन्त्री शर्माले विगतदेखि नै एमाले र माओवादीबीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको बताउँदै नयाँ ढङ्गले पार्टी सङ्गठन निर्माण गरिने बताए ।
यसै गरी ताप्लेजुङमा बोल्दै नेता नेपालले पूर्वनेकपा एमालेलाई १५ वर्ष आफूले नेतृत्व गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको मामूली कार्यकर्ताको सङ्ज्ञा दिएर नजिस्काउन आग्रह गरे ।
आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको बताए ।
नेकपा दाहाल– नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पाथीभराको कोखबाट जन्मिएकाले आफू सधैँ सत्यको बाटामा हिँड्ने बताए । उनले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने जिकिर गरे ।