काठमाडौँ, ११ माघ । स्वास्थ्य सेवा विभागले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको साढे चार लाख खोप आज प्रदेशमा पठाउने तयारी गरिएको छ ।
स्थानीय तहबाट खोप लगाउने फ्रन्टलाइनरको यकिन तथ्यांक संकलन भईनसकेको खोप पठाउन ढिला भएको जानकारी दिदै विभागले आज बेलुका अबेर भए पनि खोप पठाउने तयारी गरेका बताएको छ ।
विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको दुई वटा ट्रक तयारी अवस्थामा राखिएको र जिल्लागत विवरणका आधारमा प्रदेशमा खोप पठाउने बताए । १० लाखमध्ये दोस्रो चरणमा थप ४ लाख ५० हजार मात्रा पठाइने उनको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १५ मा खोप लगाउन सुरु गर्ने घोषणा गरिसकेका छन् । विभागको योजनाअनुसार केन्द्रबाट प्रदेशमा खोप पुर्याउन दुई दिन र प्रदेशबाट जिल्ला अस्पतालसम्म पुर्याउन अर्को दुई दिन कम्तीमा लाग्ने अनुमान छ । प्रधानमन्त्री ओलीले घोषणा गरेकै दिन खोप सुरु गर्न आइतबार जसरी भए पनि खोप प्रदेशमा पठाउनुपर्ने हुन्छ ।
सोमबारसम्म प्रदेशमा पुर्याउने र बुधबारसम्म जिल्लामा पुग्यो भने मात्रै बिहीबार देशभरि एकै पटक खोप लगाउन सकिने उनले बताए ।
जिल्ला तहका स्वास्थ्यकर्मी, सफाइमा खटिने कर्मचारी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउन लागिएको हो । खोप लगाउन जिल्ला अस्पतालमा बुथ बनाउन लागिएको छ । खोप लगाएपछि हुन सक्ने असरको निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको विभागले जनाएको छ ।