सुर्खेत, ८ माघ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान नभएको बताएका छन् ।
सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको सोही समूहको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्टको नीति र विधि नमान्ने तानाशाहलाई पार्टीमा राखिराख्न नसक्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भन्दा माथि हुन खोजेको भन्दै त्यस्ता तानाशाहलाई पार्टीको साधारण सदस्यताबाट निस्कासन गर्न लागेको बताए ।
उनले केपी ओलीको कुरामा सहमति जनाउनलाई आफूहरु उनका दास र हनुमान नभएको बताए ।
केपी शर्मा ओलीको भविष्य नभएकाले उनको गुलियो बोलीमा कार्यकर्ता भुल्न नहुने उनले जनाए।
आफूहरुले ओलीलाई घेराबन्दी गर्न नखोजेको भन्दै अध्यक्ष नेपालले आफूहरु समस्या नभइ समाधान भएको बताए । देश लुट्न र भ्रष्टाचार गर्न नपाइने उनको भनाइ छ।