माघ ७ कैलाली । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली ईतिहासकै तानाशाह बन्न खोजेको बताएका छन् ।
जसपाले संसद विघटन बिरुद्ध आज देशभर आयोजना गरेको बिरोध सभाको टिकापुरमा भएको सभालाई संवोधन गर्दे भट्टराईले संसद विघटन पछि निर्वाचनको घोषणा केवल बिषको घडामा अमृत छर्केर पिउन दिए जस्तो मात्र भएको बताए ।
उनले ओलीले चुनाव गराउलान र ठूलो पार्टी भएर सत्तामा जाँउला भन्ने सपना नदेख्न काँग्रेसलाई आग्रह गरे ।
‘पूर्वराजा बिरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन्। सेना, अदालतमा आफ्ना मान्छे भर्ती गर्नु, राष्ट्रिय अनुसन्धान र राजश्व अनुसन्धान आफ्नै मातहतमा ल्याउनु, संवैधानिक आयोगमा आफ्ना मान्छे भर्ती गर्नुले पनि उनी इतिहासकै तानाशाही बन्ने संकेत हो’ उनले भने।
निर्वाचन हिजो राजा ज्ञानेन्द्रले पनि घोषणा गरेको र पञ्चायतले पनि घोषणा गरेको तर आफूहरुले भाग नलिएको भन्दै उनले अहिलेको निर्वाचन घोषणा सर्वसत्तावाद लाद्न भ्रम छर्न मात्र घोषणा गरिएको बताए ।
उनले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्नेमा आशाबादी रहे पनि ढुक्क नरहेको भन्दै लाखोँ जनता सडकमा आएरु लोकतन्त्रका लागि दबाब दिनु पर्नेमा जोड दिए ।
कैलाली क्षेत्र नं १ का सांसद रेसम चौधरीलाई अहिले सम्म जेलमा राखिएकोमा पनि उनले आपत्ति जनाए ।