माघ ६, काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप बिहिवारसम्म नेपाल आईपुग्ने सम्भावना रहेको छ । भारतले नेपाललाई सहयोगको रुपमा दिन लागेको कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याउन लागेको हो ।
यसबारे थप जनकारी दिन बुधबार दिउँसो स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बुधबार स्वास्थ्यमन्त्री र भारतीय राजदूतले संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्ने बताएका छन् । उनले कति संख्यामा खोप आउँछ र कहिलेसम्ममा आउँछ भन्ने विषयमा भने खुलाएनन् ।
भारतको मुम्बईस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले उपहार स्वरुप नेपाललाई दिन लागेको हो । भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीमा पनि नेपाललगायत छिमेकी देशहरु बंगालादेश, भूटान, माल्दिभ्स, म्यानमार, सेसेल्सलाई बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन लागिएको उल्लेख छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा बेलायती औषधि निर्माता कम्पनीले संयुक्त रुपमा विकास गरेको ुएजेडडी१२२२ु नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका बेला नेपालले भारत सरकारसँग ३ प्रतिशत जनसंख्यालाई पुग्ने खोप माग गरिएको स्रोतले बताएको छ ।
औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिशील्ड’लाई गत शुक्रबार नै आपतकालिन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।