रानीपोखरीको लेउ र झ्याउ हटाई चिटिक्क बनाउँदै महानगरपालिका

रानीपोखरीको लेउ र झ्याउ हटाई चिटिक्क बनाउँदै महानगरपालिका

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाडौँ । पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाई थालेको छ । महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ । ‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग हामीले छलफल गरिरहेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, ‘पुनर्निमाण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुर्ननिर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’ सहरको सौदर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाई छ ।

‘पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि हामीले नगरप्रहरीको सहयोगमा त्यहाँको लेउ र झ्याउ हटाउन थालेका छौँ । दीर्घकालिन व्यवस्था नहुन्जेलसम्म पोखरीको सरसफाइलाई महानगरपालिकाले नियमित गर्छ,’ ज्ञवालीले भन्नुभयो, ‘पानीमा माछा नहालेकाले हो अथवा सुरुमा हालेको पानीका कारणले त्यस्तो भएको हो । यो विषयमा पनि हामीले विज्ञहरुसँग छलफल गरेका छौँ । पोखरी लेउ र झ्याउले कुरुप भयो । त्यसैले हामीले पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालिन समस्या समाधानको बाटो अपनाउने तयारी गरेका छौँ ।’ काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकोटाले पनि दैनिक २० बढी नगरप्रहरी खटाएर उनीहरुकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिनुभयो । ‘दुई दिन लगाएर करीब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ पिटपर जति लेउ र झ्याउ झिक्ने काम भएको छ ।’ उहाँले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भैरहेको जानकारी दिनुभयो ।

अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिनुभयो । प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको जानकारी दिनुभयो । ‘अहिलेसम्म काठमाडौँ महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भन्नुभयो, ‘यो अवस्थामा काठमाडौँ महानगरपालिकाले सफा गर्ने असल उदेश्यले गरेको कार्य सकारात्मक छ ।’ प्राधिकरणले पनि त्यहाँको लेउ दीर्घकालिन रुपमा हाटाउने र पोखरीलाई सफा बनाउने उपायको खोजी गरिरहेको सन्र्दभमा महानगरपालिकाले गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उहाँले पानी पम्पिङ गर्ने लगायतका बारेमा पनि सोचिरहेको जानकारी दिनुभयो । ‘अहिले महानगरपालिकाले अस्थायी रुपमा जे गरिहेको छ । त्यो सकारात्मक छ । तत्काल सफा नगर्ने हो भने पोखरीको सबै पानी दुर्घन्दित हुने खतरा बढी हुन्छ । पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ । यसका कारण लेउ उम्रन पनि पाउँदैन । यो विषयमा पनि हामी सोचिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘लेउ खाने जातीका माछा हालेर पनि रानीपोखरीलाई सफा र सुन्दर राख्न र पोखरीको सौदर्य बढाउन सकिन्छ भन्ने विकल्पमा पनि छौँ ।’ उहाँले यस अघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको भन्दै अहिले पानीको लेवल घटेको जानकारी दिनुभयो । ‘हामीले सुरुमा पाँच फिट २ इन्च पानी पोखरीमा भरेका थियौँ । अहिले पोखरीमा पानीको लेवल कम भएको छ । त्यहाँ करीब तीन फिट जति मात्रै पानी छ,’ उहाँले भन्नुभयो, ‘तीन करोड २२ लाख लिटर जति पानी हामीले पोखरीमा भरेका थियौँ । अहिले करीब २ करोड लिटरको हाराहारीमा पानी रहेको अनुमान गरेका छौँ ।’ पोखरीमा पानी भर्ने सन्दर्भमा पनि महानगरपालिकासँग छलफल भएको र केही दिन भित्रमै पोखरीमा पानी टनाटन भरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी