काठमाडौँ माघ ५ । पछिल्लो समय कोरोना संक्रमण घट्दै गए पनि फेरी नयाँ खालको कोरोना भित्रिएको छ । बेलायतबाट फर्किएका तीन जनामा युके भेरिएन्ट संक्रमण देखिएको सरकारले पुष्टी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो ।
उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा आज रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना देखिएपछि चिन्ता बढेको छ । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण भने देखिएको छैन ।
बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् ।
