माघ ४ काठमाडौं । नेकपा प्रचण्ड–माधव समुहका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पार्टीको केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य पुर्याउन नसक्ने दाबी गरेका छन् ।
खनालले आफ्नो पक्षमा स्थायी, सचिवालय र केन्द्रीय कमिटिमामात्रै नभई देशभरका ७७ जिल्ला मध्ये ७० जिल्ला र सातै प्रदेशमा अत्याधिक बहुमत रहेको बताए ।
उनले आज अनेरास्ववियुले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै ४० प्रतिशत हिस्सा पुर्याउन नसक्ने भएकाले आधिकारीक नेकपा आफूहरुनै रहेको उनले दाबी गरे ।
उनले संविधान विपरीत संसद विघटन गरिएकाले सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफूहरु विस्वस्त रहेको भन्दै केपी ओलीले जसरी आफूहरुले दबाब नदिने पनि बताए ।
खनालले बालुवाटारमा केपी ओलीले गरेको बैठक मण्डले प्रवृत्ति भएकाहरुको गुटको बैठक भएको टिप्पणी गरे ।
खनालले नेकपा फुटेको नभई ओली समुहले चोइट्याएको मात्रै बताए । ‘नेकपा फुटेको होइन, ओलीले चोइटाएका हुन् । रुखले, बासले बोक्रा र पट्यास फेर्छन् । बोक्रा वा पट्यास फेर्दैमा रुख ढल्दैन । नेकपा सतिशालजस्तो रुख हो । कसैले ढाल्न सक्दैन’, खनालको जिकिर छ ।