माघ २ काठमाण्डौं । संसद विघटन पछि विभाजित बनेको नेकपाको दुई खेमाले एक अर्का बिरुद्धको कार्बाहीको सिलसिला जारी राखेको छ । आज बसेको नेकपा प्रचण्ड माधव समुहको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने पकृया थाल्ने निर्णय गरेको छ । संसद विघटन गरेको जस्ता विभिन्न आरोपमा शुरुमा स्पष्टीकरण सोध्ने र चित्तबुझदो जवाफ नदिए साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
ओलीलाई यस अघि सो समुहले पार्टी सदस्यबाट हटाएर केन्द्रीय समिति सदस्यमा कायम राखेको थियो ।
त्यस्तै पार्टी विरोधी गतिविधि गरेको भन्दै सो समुहले ओली समुहमा लागेका महासचिव विष्णु पौडेललाई कार्बाही गर्ने निर्णय गरेको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए ।
कार्बाही पछि हुने रिक्त पदहरुमा तीन दिन भित्र पूरा गर्ने पनि निर्णय भएको छ ।
यसैबीच, सो समुहले माघ १६ गते संसद विघटन बिरुद्ध काठमाण्डौमा पुनः प्रदर्शन गर्ने भएको छ । यस अघि पनि काठमाण्डौमा शक्ति प्रदर्शन गरेको सो समुहले देशभर संसद विघटनको बिरुद्ध आन्दोलन गर्दै आईरहेको छ ।