माघ २ काठमाण्डौं । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा ज्ञवाली र जयशंकरबीच एक घण्टा लामो छलफल भएको थियो ।
दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतका व्यक्ति सहभागी थिए ।
ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुँदैछ ।
बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ ।
नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने आशय व्यक्त गरेको छ ।
आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।
मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहसगँ समेत भेटेर भोली स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।