पुष २६ काठमाण्डौं । यस अघि देखि नै दुई धारमा रहेको काँग्रेस पुष ५ को संसद विघटन पछि पनि दोधारमा उभिएको छ । उसले औपचारीक रुपमा संसद विघटनको बिरोध गरेर सडकमा प्रदर्शन गरे पनि पार्टीको धारणा संसद पुनस्थापना या नयाँ निर्वाचन भन्नेमा काँग्रेस अलमलिएको देखिएको छ ।
सभापति देउवा प्रभावकारी आन्दोलनको पक्षमा समेत नभएका बेला पौडेल पक्षको दबाबका कारण आन्दोलनको कार्यक्रम भने आएको थियो ।
देउवा सार्वजनिक रुपमै सरकारले निर्वाचन गरायो भने भाग लिनु पर्ने पक्षमा खुलिसकेका छन् ।
तर पौडेल सहित अन्य नेताहरु यो संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भने संसद पुनस्थापनालाई एजेण्डा बनाउनु पर्ने पक्षमा छन् ।
हिजो देशभर ३३० प्रदेश निर्वाचन क्षेत्रमा भएको बिरोध सभामा बोल्ने क्रममा पनि सभापति देउवाले सरकारले निर्वाचन गराए भाग लिनु पर्ने बताए भने मिनेन्द्र रिजाल सहित अन्य केही नेताले सरकारले निर्वाचन गराउने संभावना नरहेको र यस्तो सरकारले गराउने निर्वाचनमा काँग्रेसले भाग नलिने बताए ।
यता आजै विराटनगर स्थित निवासमा पत्रकार सम्मेलनमा बोल्दै डा. शेखर कोईरालाले संसद विघटनलाई असंवैधानिक भनेको अवस्थामा संसद पुनस्थापनालाई एजेण्डा बनाउनु पर्ने तर्क गरे ।
उनले सर्वोच्च अदालतले संसद विघटन सम्बन्धि गर्ने फैसलालाई भने काँग्रेसले स्वीकार गर्ने बताए ।
यदी सर्वोच्चले संसद पुनस्थापना गरेन र निर्वाचनमा जाउ भन्यो भने काँग्रेस चुनावमा जाने देखिन्छ ।
तर सरकारको अलोकतान्त्रिक र असंवैधानिक भनिएको यो कदमकबो बिरुद्ध सयुक्त आन्दोलन गर्ने प्रचण्ड माधव नेपालको प्रस्ताव काँग्रेसले स्वीकार गरेको छैन ।
काँग्रेसले ठोस र आधारभूत रणनीति तय नगर्दा सरकारमाथि दबाब पुग्ने गरी आन्दोलन पनि हुन सकेको छैन भने निर्वाचन गराउने वातावरण बनाउने गरी पनि उसले भूमिका खेल्न सकेको छैन ।
एकातिर काँग्रेसलाई नेकपा विभाजित भईसकेकाले अब हुने निर्वाचनमा स्वतः ठूलो पार्टी बन्ने आकांक्षा छ भने अर्कोतिर सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकाले संविधान विपरीतको कदमबारे बोल्नु पर्ने बाध्यता पनि छ ।