पुष १६ विराटनगर । संसद विघटन र नेकपा विभाजन पछि प्रदेशमा संघर्ष चर्किकै जाँदा प्रचण्ड माधव समुहले प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएको छ । नेकपाको जम्मा ६७ जना प्रदेश सभा सदस्य मध्य प्रचण्ड माधव पक्षको स्पष्ट बहुमत रहेको छ । ३६ जना सांसदको हस्ताक्षर सहित राईलाई संसदीय दलको नेताबाट हटाईएको जानकारी पत्र प्रदेश सभामा दर्ता भएको छ ।
आज विहान बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको छ । यस अघि अविस्वासको प्रस्ताव दर्ता गर्दा पनि भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।
बहुमत सदस्यबाट अविश्वासको पत्र दर्ता भइसकेको वर्तमान अवस्थामा सोही दलबाट निर्वाचित संसदीय दलका नेता राई नैतिक रुपमा दलका नेता हुन नसक्ने पत्रमा उल्लेख छ ।
दललको नेताबाट हटाएको पत्र मुख्यमन्त्रीलाई पनि पठाएको नेकपाका सांसदले बताएका छन् । यसअघि गत आइइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
यस अघि मुख्य मन्त्री राईले अर्थमन्त्री ईन्द्र आङबोलाई बर्खास्त गरेका थिए भने सचेतकले सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।
त्यस अघि बागमती प्रदेशमा पनि अविस्वासको प्रस्ताव दर्ता भईसकेको छ । चार वटा प्रदेशमा सबै भन्दा ठूलो दलको रुपमा नेकपा प्रचण्ड माधव समुह रहेको छ ।