पुष १४ काठमाण्डौं । नेकपा प्रचण्ड माधव नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले पुष ५ गते जनभावना विपरीत संसद विघटन गरेका प्रधानमन्त्री केपी ओली एण्ड कम्पनीको आयु अब पुगेको चेतावनी दिएका छन् । उनले ६२÷६३ सालको आन्दोलनमा राजा बिरुद्ध अब राजाको आयु पुग्यो भनेर चेतावनी दिएको स्मरण गर्दै ओलीलाई पनि यस्तै चेतावनी दिए ।
राजधानीमा संसद विघटन बिरुद्ध आज भएको बिरोध र्याली पछि आयोजित सभालाई संवोधन गर्दै अध्यक्ष नेपालले संसद विघटन नेपाली जनता र आफूहरुलाई अस्वीकार्य भएको भन्दै ओलीले गणतन्त्रको आन्दोलनको पनि खिल्ली उडाएको स्मरण गराए ।
ओलीमा व्यक्तिवाद र निरंकुशता हावी भएको र कम्युनिष्टमा हुनु पर्ने गुण नभएको नेपालले आरोप लगाए । अब ओलीलाई अस्वीकार गर्नु बाहेक अरु कुनै उपाय नरहेकोमा उनले जोड दिए ।
वयलगाडा चढेर वासिग्टन पुगिदैन भनेर अभिव्यक्ति दिएका ओलीलाई परिवर्तन र गणतन्त्रप्रति कुनै माया नभएको पनि नेता नेपालले बताए ।
संघीयता, लोकतन्त्र र संविधानका बिरुद्ध ओलीले कदम चालेका कारण जनता र दलहरु सडकमा उत्रिएको नेपालले बताए ।
यसै गरी समाजका सबै बर्ग र तप्काहरु आन्दोलनमा उभिन शुरु गरेको उनले बताए ।
तेल घस्दा घस्दा बाँङगो पुच्छरलाई सोझ्याउन सकिन्छ कि भनेर कोशिस गरेको भन्दै अझै पनि आफ्नो गल्ती र कमजोरी सच्याएर आए ओलीलाई स्वागत गर्न तयार रहेको तर गलत कदम जारी राखे, भीरबाट हाम फाल्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिदैन, नेपालले चेतावनी दिए ।