पुष १३ काठमाण्डौं । काँग्रेस सभापति शेर बहादुर देउवामाथि पार्टी भित्र पनि प्रधानमन्त्री ओलीसगँ साँठगाँठ गरेको हुन सक्ने आशका केही नेताहरुले गरेका थिए । खास गरी संवैधानिक परिषद्मार्फत हुने आयोगहरुको नियुक्तिमा । त्यसैले उनले संसद विघटन बिरुद्ध आन्दोलनको कार्यक्रम बनाउन समेत तयार भएका थिएनन् ।
तर रामचन्द्र पौडेल समुहको ब्यापक विरोध र दबाब पछि सभापति देउवा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएका थिए । सोही बमोजिम आज देशभर काँग्रेसले विरोध प्रदर्शन समेत गर्यो ।
तर भक्तपुरको बिरोध सभामा बोल्न पुगेका सभापति देउवाले संसद पुनस्थापना या नयाँ निर्वाचन ? भन्ने बिषयमा अदालतलाई देखाएर ठोस धारणा राखेनन् ।
उनी नयाँ निर्वाचनको पक्षमा रहेको भनिदै आएको छ ।
काँग्रेस अहिले सानो हैसियतमा खुम्चिएको र नेकपा विभाजन भएकाले अब बहुमत सहित ठूलो पार्टी हुने र आफू प्रधानमन्त्री हुने आकांक्षा देउवामा रहेको काँग्रेसीजनले नै आरोप लगाउदै आएका छन् ।
यसै सन्दर्भमा देउवाले आज बोल्ने क्रममा अदालतमा बिचाराधीन रहेको मुद्धामा काँग्रेसले कुनै पनि पक्षमा नबोल्ने न यता न उता भन्ने अभिव्यक्ति दिएका छन् ।
उनले अदालतको फैसला जे आउछ त्यो मान्ने तर अदालतलाई तर्साएर वा धम्क्याएर निर्णय गर्न बाध्य पार्न नहुने बताए ।
त्यस्तै देउवाले संसद विघटन बिरुद्ध शुरुमा बन्न लागेको तीन ठूला दलको मोर्चाबन्दी पनि अस्वीकार गरेका छन् । उनले कुनै पनि दलसगँ नमिलि काँग्रेस एक्लैले प्रदर्शन गर्ने र शक्तिको आकंलन गर्ने पनि बताए ।