गोरखा, ११ पुस । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
शनिबार साँझ जसपा र नेकपाका कार्यकर्ताले हरमटारी चोकमा छुट्टाछुट्टै कार्यक्रम गरेर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका हुन्।
जनता समाजवादी पार्टीले बसपार्कबाट मसाल जुलुससहित चोकमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको छ ।
नेकपाले खोलखोलेस्थित पार्टी कार्यालयबाट मशाल जुलुससहित सोही चोकमा पुगेर पुत्ला जलाएको थियो । तर पुत्लामा आगो सल्काउन लाग्दा आगो बढ्न नदिएर प्रहरीले खोसेर लगेको थियो।
जुलुसले प्रतिनिधिसभा पुनस्थापना गर, केपी ओली मुर्दावाद, विद्या भण्डारी मुर्दावाद लगायतका नारा लगाएका थिए।
जनता समाजवादी पार्टीको मसालु जुलुस तथा पुतला दोहनपछिको कोणसभामा सो पार्टीका गण्डकी प्रदेशका सहसंयोजक रमेश पोखरेल, जिल्ला संयोजक नारायण खत्री, केन्द्रीय सदस्य रोहिणी पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए।
त्यस्तै नेकपाको कोणसभामा राष्ट्रिय युवा संघका सुदीप नगरकोटी, विद्यार्थी नेता आरके भट्ट लगायतले सम्बोधन गरेका थिए ।