पुस ११, काठमाडौँ । सरकारले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने भएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् पुनर्गठन गरेलगत्तै बसेको बैठकमा मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने बिषयमा छलफल भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्को बैठक शुक्रबार राति साढे ९ बजेपछि बसेको थियो । बैठकमा अन्य मन्त्रालयगत एजेण्डाका बिषयमा छलफल हुनुका साथै नयाँ मन्त्रीहरूलाई स्वागत गरिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ७ बजेपछि ८ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री समक्ष शपथग्रहण गरेका थिए ।