पुस १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरे लगत्तै प्रचण्ड र माधवकुमार नेपाल समूहका केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।

नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो, विमला विश्वकर्मा रहेका छन् ।
रायमाझीलाई ऊर्जामन्त्री, थापालाई खानेपानीमन्त्री, साहलाई सहरी विकासमन्त्री, ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ । लामालाई भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, महतोलाई महिला तथा बालबालिका मन्त्रालय, आलेलाई वन मन्त्रालय, चौधरीलाई श्रम, विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई भने हटाइएको छ ।
त्यस्तै, भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ
महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ भने कानुनबाट शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयमा सारिएको छ । पद्मा अर्याललाई भने भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ ।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई भने जिम्मेवारीबाट मुक्त गरिएको छ ।
संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी दुई टुक्रामा विभाजित बनेको छ । पार्टी विभाजनमा पुगेपछि ओलीले पूर्वमाओवादीका केही प्रभावशाली नेतालाई मन्त्री बनाएका हुन् । मन्त्री बन्नेका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ (लामा) पूर्व माओवादीका नेता हुन् ।
नवनियुक्त मन्त्रीलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।