काठमाडौं, १० पुस । नेकपाको बिभाजनको असर प्रदेश सरकारमा पनि परेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई टुक्रामा विभाजन भएको छ । पार्टी विभाजनलगत्तै त्यसको असर प्रदेश सरकारमा देखिएको हो ।
आज बाग्मती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन्।
यता अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजिनामा समेत दिएका छन्।
राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका छन् ।
प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावमा नेकपाकै सांसदहरुको हस्ताक्षर छ । उता कांग्रेसका सांसदहरुले भने हस्ताक्षर नगरेको बताईएको छ ।
प्रदेश सरकारमा कांग्रेसका तर्फबाट २३ जना सांसद छन् ।
तर आज अविश्वास प्रस्ताव दर्ताको बिषयमा काग्रेस सांसदहरुसँग छलफल नै नभएको बताइएको छ ।
वागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले आफुहरुलाई यसबारे जानकारी नै नभएको बताए । अविश्वास प्रस्ताव दर्ता गर्नेबार केहिसमय अघि चर्चा चलेपनि अहिले यसबारेमा आफुहरुसँग छलफल नै नभएको बताए ।