पुष ९ काठमाडौँ । संसद विघटनप्रति आक्रोसित जनता समाजवादी पार्टी नेपालले संसदको बैठक बोलाउन सभामुख अग्नी सापकोटालाई आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख सापकोटाको कार्यकक्षामा भेट गर्दै जसपा नेताहरु बाबुराम भट्टराई,उपेन्द्र यादव र लक्षमणलाल कर्णले बैठक बोलाउन माग गरेका हुन् ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै उनीहरुले संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न माग गरेका थिए ।
जसपाले संसद् विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलन शुरु गरीसकेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही आन्दोलनका कार्यक्रमलाई सफल बनाउन रणनीति बनाउन छलफल अघि बढाएको छ ।
जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ ।