९ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रिय समिति बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ ।
बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध आन्दोलन गर्न २५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ । आन्दोलनको कमाण्डका लागि सानो आकारको सचिवालय बनाइने तयारी छ ।
संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएता पनि निर्णय हुन सकेको छैन।